शिक्षक अभिभावक अन्तरक्रिया 

शिक्षक, विद्यार्थी र अभिभावकको सहसम्बन्धले नै सिकाइमा सुधार ल्याउन सकिन्छ भन्ने हेतुले अध्ययन विद्यालयमा शिक्षक र अभिभावाकबिच अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो।कार्यक्रममा माद्यमिक तहमा शिक्षण गर्ने शिक्षकहरू र कक्षा ८ र १० का अभिभावकहरुको उपस्थिति थियो।उक्त अन्तरक्रिया कार्यक्रमका प्रमुख वक्ता माध्यमिक तहका निर्देशक श्री शरण कुमार अर्यालज्यूले विद्यार्थीहरुको चौतर्फी विकासका लागि शिक्षक, अभिभावक, विद्यालय र विद्यार्थीले अपनाउनुपर्ने रणनीतिका बारेमा प्रकाश पार्नुका साथै  विद्यालय तहमा पढ्ने विद्यार्थीहरुको उमेर किशोरावस्थाको हुने भएकाले उनीहरूलाई उचित मार्गदर्शन चाहिन्छ त्यसकारण  सिकारुहरुको चौतर्फी विकासका लागि शिक्षक र अभिभावकको समान महत्त्व हुने भएकाले घरमा अभिभावक र स्कुलमा शिक्षकले असल मार्गदर्शकको भूमिका खेल्नु पर्ने र यसमा कुनै पक्षको कमजोरी रहेमा विद्यार्थीको भविष्य कतातिर जाने हो भनेर यकिन गर्न कठिन हुने कुरामा जोड दिनु भयो।

परीक्षा र अंकलाई मात्र केन्द्रमा राखेर पढाउनु र अंकले नै सिकारुको भविष्य निर्धारण गर्छ भन्ने सङ्कुचित सोचलाई हटाएर जीवन जगतलाई बुझेर समस्या समाधान गर्ने सीप र जीवनोपयोगी ज्ञान सिकाएर विद्यार्थीलाई आत्मनिर्भरताको बानी बसाल्नु नै ठुलो सिकाइ हो भन्ने ध्यान सबै पक्ष हुनु जरुरी रहेको बताउनु भयो।विद्यार्थीहरु परीक्षादेखि हतोत्साहित तथा डराउने प्रवृत्तिलाई हटाइ परीक्षालाई अवसरको रुपमा लिने बानीको विकास गराउन सके सजिलैसँग सफलता प्राप्त गर्न सक्ने धारणा राख्नु भएको थियो। यसका लागि विद्यालयको सिकाइमा मात्र नभई घरमा पनि समय तालिका अनुसार पढ्ने संस्कारको विकास गराउन सकेमा सिकारु आत्मनिर्भर भएर आफ्नो कामको आफैं जिम्मेवार हुने र आउने चुनौतीलाई आत्मसात गर्दै अगाडि बढ्ने क्षमताको विकास हुने वातावरण मिलाउन सके सफलता र असफलताको विकल्प नहुने कुरा बताउनु भयो।

अत: सिकारुको शारीरिक, मानसिक र संज्ञानात्मक विकासका लागि विद्यालय परिवार र घरपरिवारको उत्तिकै भूमिका रहने भएकाले यस विषयमा दुवै पक्षले आ- आफ्नो क्षेत्रबाट सहजीकरण गर्ने प्रतिबद्धता गरी   कार्यक्रम समापन भएको थियोे । विश्वास छ यो कार्यक्रमले शिक्षक र अभिभावकहरुलाई अभिप्रेरित गरी विद्यार्थीहरुलाई मार्गनिर्देशन गर्न सहज बनाउने छ।

– दिल बहादुर बिष्ट 

नेपाली विभाग प्रमुख 

Comments are closed.