नमुना टोखा नगर कार्यपालिका बैठक २०८०

   सिकाइलाई व्यावहारिक बनाउने उद्देश्यले हाम्रो अध्ययन स्कुलले नमुना टोखा नगर कार्यपालिकाको बैठक सञ्चालन गरेको थियो।उक्त कार्यक्रममा हामी कक्षा ६ र ७ का विद्यार्थीहरुले टोखा नगरपालिकाका पदाधिकारीहरुको भूमिका निर्वाह गरेका थियौं। जसमा कक्षा ७ बाट प्रमुख प्रशासकीय अधिकृत ,मेयर  र वार्ड अध्यक्षको भूमिका र कक्षा ६ बाट उप-मेयर, वार्ड अध्यक्ष र वार्ड सदस्यको भूमिका रही आफ्नो वार्डका समस्या र भइरहेका विकासका कार्यहरुका बारेमा विचार प्रस्तुत गरेका थियौं।

  कार्यक्रमको  औपचारिक सुरुवात प्रमुख प्रशासकीय अधिकृतले गरेका थिए भने त्यसपछि मेयरले आजको कार्यपालिका बैठकमा सम्पूर्ण पदाधिकारीलाई स्वागत गर्दै  वार्ड न. १ देखि वार्ड न. ११ सम्मका सबै अध्यक्षहरुलाई पालैपालो बोल्ने समय उपलब्ध गराउनु भयो। जसमा वार्ड अध्यक्षहरुले आफ्नो वार्डका खानेपानी ,विद्युत,सांस्कृतिक सम्पदा,सार्वजनिक जग्गा आदि विभिन्न विषयमा विचार प्रस्तुत गर्नु भएको थियो। मैले पनि वार्ड न.११ को अध्यक्षको भूमिका निर्वाह गरी बोल्न्नु पर्ने भएकाले एक हप्ता पहिले देखि नै वार्ड न.११ को भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, सार्वजनिक क्षेत्र,शिक्षा,स्वास्थ्य,यातायात आदि अवस्थाको गहन रूपमा अध्ययन गरी कार्यपालिका बैठकमा स्पष्ट रुपमा राखेको थिएँ।

   सबै वार्डका अध्यक्षहरुले आ-आफ्नो प्रस्ताव तथा विचार प्रस्तुत गरिसके पछि मेयरले उक्त प्रस्तावहरु माथि छलफल गरी हुन्छ वा हुन्न भन्ने मत लिनु भयो। बहुमतलाई पास गर्दै अल्पमतलाई अगाडि नबढाउने वा पछि  विचार गर्ने भनी बैठकको समापन गर्नु भयो।अन्त्यमा सबै पदाधिकारीहरु अध्ययन चौतारीमा आएर सम्झनाका लागि तस्बिरहरु पनि लियौँ। प्रायः सबैको पहिरन देख्दा भोलिका देश चलाउने नेतृत्व हामी नै हौं भन्ने आभास भयो। अनि प्रधानाध्यापक ज्यूले सम्पूर्ण सहभागीहरुलाई  नमुना नगर कार्यपालिका बैठकमा निभाएको भूमिकाअनुरुप प्रमाणपत्र वितरण गर्नु भयो। सबैलाई पालैपालो पदीय जिम्मेवारी अनुसार बोलाउदा आफैमा गर्वको महसुस भयो।

   यसरी कक्षाकोठामा विषयवस्तुलाई पढेर भन्दा प्रयोगात्मक रुपले सिक्दा बढी सिकिने रहेछ। बोल्ने सिपको विकासका साथै नगर कार्यपालिका बैठक के कसरी सञ्चालन गरिन्छ भन्ने विषयमा प्रत्यक्ष सहभागी भएर धेरै सिक्ने अवसर पाइयो।

  जयश राज आचार्य 

  कक्षा :७

Comments are closed.