वक्तृत्वकला प्रतियोगितामा सहभागी हुँदाको अनुभव

टोखा नगर प्याब्सन र टुमामकेयर फाउन्डेसनद्वारा आयोजना गरिएको “धूम्रपान तथा सूर्तीजन्य पदार्थको उपभोगबाट हुने असर” नामक शीर्षकको वक्तृत्वकला प्रतियोगितामा भाग लिनका लागि हाम्रो अध्ययन स्कुलको आन्तरिक प्रतिस्पर्धाबाट म छ्नोट हुँदा अत्यन्त खुसी लागेको थियो। उक्त प्रतियोगिता हेराल्ड कलेजमा मिति २०८० साल असार १६ गते शनिबारका दिन हुने भएकाले छ्नोट पछि एक हप्ता मलाई आफ्नो तयारी गर्ने समय थियो। त्यो एक हप्तामा मैले उक्त शीर्षकका बारेमा धेरै खोज अनुसन्धान गरी विभिन्न सूचना तथ्यहरु सङ्कलन गरी  प्रतियोगिताका लागि आफ्नो मन्तव्य तयार गरेँ।

एक हप्ता बितेको मलाई पत्तै भएन ! आज १६ गते वक्तृत्वकला प्रतियोगितामा प्रतिस्पर्धा गर्न जाने दिन भनेर बिहानै उठेँ। आज कस्तो गर्न सक्ने हुँ? कति जना सहभागी होलान् ? कसको तयारी कस्तो होला? आदि इत्यादि प्रश्नहरू मेरो मनमा खेलिरहेका थिए । विद्यालयभन्दा बाहिर गएर भाग लिन लागेको पहिलो पटक भएर होला मलाई बढी डर र चिन्ता लागेको थियो तर मैले आफ्नो विद्यालयमा हुने विभिन्न प्रतियोगितामा भाग लिएर आफ्ना विचार प्रस्तुत गरी प्रथम भएको क्षण सम्झिँदै आफ्नो डर,चिन्तालाई मनभित्रबाट हटाएर म राम्रो गर्छु भन्ने आँट बोकी घरबाट विद्यालयसम्म गएँ।  हाम्रो विद्यालयबाट अंग्रेजी माध्यमबाट सहभागी हुन अर्को मेरै कक्षाकै साथी युभाष्कर बराल पनि छ्नोट भएको थियो। वक्तृत्वकला प्रतियोगितामा सहभागी  गराउन मलाई र साथीलाई नेपाली विषय शिक्षकले हेराल्ड कलेजमा लगेर जानु भयो।

कार्यक्रम हलमा हामी पुग्यौँ।त्यहाँ विभिन्न विद्यालयका सहभागी साथीहरू थिए। साथै सहभागी विद्यालयका शिक्षकहरू निर्णायक मण्डलहरु सबै जना आ-आफ्नो स्थानमा बसिसके पछि सहभागी वक्ताहरूले बोल्ने क्रम सुरु भयो। वर्णानुक्रमबाट वक्ताको बोल्ने पालो आउने जानकारी भएकाले मेरो बोल्ने पालो अन्तिमतिर थियो।सहभागी वक्ताहरूले आफ्ना मन्तव्य राख्दै गए। मेरो मनमा पनि मेरो मन्तव्य अरुको भन्दा कम छैन र अरुको भन्दा राम्रो गर्छु भन्ने विश्वास बढ्दै गइरहेको थियो। मेरो बोल्ने पालो आयो म मञ्चमा गएँ र निर्धक्क साथ आफ्ना विचार प्रस्तुत गरेँ। मेरो मन्तव्य समापन गर्दा दर्शकहरूले ताली बजाएर झन मलाई हौसला दिएका थिए।

वक्ताहरूले बोल्ने पालो सकिए पछि निर्णायक मण्डलहरुले निर्णय सुनाउनु भयो। प्रथम,द्वितीय र तृतीय हुने वक्ताहरूको नाम बोलाउँदै गर्दा आफ्नो नाम नआउँदा अलिकति नरमाइलो लाग्दा नेपाली शिक्षकले विजयी हुनु नै ठुलो कुरा होइन। तपाईंको मन्तव्य पनि विजयीसँगै प्रतिस्पर्धी हुने खालको थियो। विजयी हुने एक जना भए पनि तपाईं पनि विजयी नै हो भनेर हौसला दिनुभयो  अनि मेरो मनमा पनि आगामी दिनहरुमा हुने अन्य प्रतियोगितामा म अझै राम्रो गर्नेछु र विजयी हुनेछु भन्ने अनुभव र हौसला प्राप्त गरेँ।

 – रीया भण्डारी 

 कक्षा :८

Comments are closed.