खेलकुद सप्ताह २०८०

खेल भन्ने बित्तिकै हामी बालबालिकाहरुको मन फुरुङ्ग हुन्छ नै! हरेक वर्ष अध्ययन स्कुलले खेलकुद सप्ताह गर्दै आइरहेको छ। मेरा लागि २०८० सालको खेलकुद सप्ताह पनि आफैंमा एक रमाइलो पल थियोे! सायद मेरा लागि अध्ययनमा अन्तिम वर्ष भएर पनि होला म मन खोलेरै खेल्न तत्पर रहेँ।

अध्ययन स्कुलको खेलकुद सप्ताहमा विभिन्न खेलहरु खेलाएर सदन-सदनबिच प्रतिस्पर्धा गराएको थियो। मैले पनि धेरै जसो खेलमा सहभागिता जनाएको थिएँ। म पटक-पटक खेलमा घाइते भए पनि टिमलाई उत्साह र हौसला बढाउनु छ भनी भित्रैबाट एक किसिमको म मा जाँगर उत्पन्न भएको थियो। बास्केटबल र दौडमा मैले प्रथम स्थान हासिल गर्दाको क्षण म र मेरो सदनका लागि अत्यान्तै महत्त्वपूर्ण रह्यो। खेलकुद सप्ताहको अन्तिम दिनका सबै खेलहरु नेपाल  सशस्त्र प्रहरीबल प्रधान कार्यालय हलचोकमा भएका थिए।आफ्ना अभिभावकहरुलाई आफ्नो खेल प्रदर्शन गर्न हामी सबै आतुर थियौं ।सबै सदनले आ-आफ्नो खेलको सीप र क्षमता प्रदर्शन गरिरहेको बेला दर्शकहरुबाट आउने हौसलाले सबै उत्साहित भएर खेलेको अनुभूति भएको थियो। 

खेलकुद सप्ताहको अन्तिम दिनका सम्पूर्ण खेलहरु रोमाञ्चक भएका थिए। त्यसै दिन सम्पूर्ण खेलको नतिजा आउने र कुन सदनले यो वर्षको विजय चिन्ह (ट्रफी) उचाल्न सफल होला र कुन सदनको खेलाडी उत्कृष्ट खेलाडीको रुपमा छनोट होला भन्ने विषयमा सबैको ध्यानाकर्षणको केन्द्र थियो। आफ्नो सदनलाई जिताउन खेलाडीहरु आफूसँग भएको सम्पूर्ण सिप तथा कौशल प्रयोग गरी खेलिरहेका थिए भने सदनमा आबद्ध शिक्षकहरु (हाउस टिचर) पनि आफ्नो सदनलाई पूर्ण रुपमा हौसला दिइरहेका थिए।सबै खेलहरु सकिएपछि नतिजाको पर्खाइमा बस्ने बेलाको जस्तो कौतुहलता त सायद अरु समयको हुँदैन रहेछ।

कार्यक्रम संचालकहरुले  यो वर्षको उत्कृष्ट खेलाडी को बन्छ? भन्दै खेलाडीका विभिन्न विशेषता भन्ने बेलामा कतै मसित मिल्दाजुल्दा जस्तो लाग्दा मन आनन्दित भयो। नभन्दै कार्यक्रम संचालकले रातो सदनका विश्वास मल्ल  र पहेँलो सदनकी नेहा बिष्ट  यो वर्षको उत्कृष्ट खेलाडीमा छ्नोट भएका छन् भन्दा मेरो खुसीको सीमा नै रहेन। त्यसै गरी उत्कृष्ट सदनमा पहेँलो सदनले विजय हात पार्दै यो वर्षको खेलकुद सप्ताह ट्रफी उचाल्न सफल भयो।

विद्यार्थी जीवनको एक महत्त्वपूर्ण समयमा उत्कृष्ट खेलाडीबाट सम्मानित हुन पाउँदा म  धेरै खुसी भएँ। मेरा लागि यो क्षण जीवनभर अविस्मरणीय रहने छ।

 -विश्वास मल्ल

  कक्षा :१०

Previous

Next

Comments are closed.