कविता रचना तथा वाचन प्रतियोगिता (२०८औं भानु जयन्ती)

                                                                                                                                                                                                                                                                                      दरिद्र नाउँ  नरमा छ कस्को

विशाल तृष्णा घरमा छ जस्को।

कुन हो धनी सब् नरले कह्याको

सन्तोषले जो छ खुसी रह्याको।                                                              

-आदिकवि भानुभक्त आचार्य  (वि.स.१८७१ असार २९ – वि.स.१९२५ असोज ६ )

नेपाली साहित्यको जग बसाउने अर्थात  साहित्यका माध्यमबाट मानव समुदायलाई आध्यात्मिक र नैतिक उपदेश दिने प्राथमिक कालका विशिष्ट प्रतिभा आदिकवि भानुभक्त आचार्यले नेपाली साहित्यमा पुर्‍याउनु भएको योगदान स्वरुप हरेक वर्ष असार २९ गते भानुभक्तको जन्म जयन्ती मनाइन्छ। यसै अनुरुप हाम्रो अध्ययन स्कुलमा पनि विद्यालयको वार्षिक कार्यपात्रो अनुसार  मिति २०७८ असार २९ गतेका दिन अतिरिक्त क्रियाकलाप संयोजक कविता तामाङको नेतृत्वमा पूर्व प्राथमिक तहदेखि माद्यामिक तहसम्म कविता रचना तथा वाचन प्रतियोगिता सञ्चालन गरी २०८औं भानु जयन्ती मनाइयो। जसमा पूर्व प्राथमिक तहदेखि कक्षा ३सम्मका बालबालिकाहरुले भानुभक्तका कविता वाचन गरेर कक्षागत रुपमै भानु जयन्ती मनाएका थिए । आधारभूत तहदेखि माध्यमिक तहसम्म कविता रचना तथा वाचन प्रतियोगितामा नेपाली विभागका प्रमुख दिलबहादुर बिष्ट र आधारभूत तहका संयोजक फर्जाना बानु निर्णायक मण्डलमा रहनु भएको थियो।कविता वाचन प्रतियोगिता दुई चरणमा सञ्चालन गरिएको थियो। जसमा कक्षा ४ देखि कक्षा ६ सम्मका विद्यार्थीहरुले पहिलो चरणमा  र कक्षा ७ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुले दोस्रो चरणमा सहभागी भएर आ-आफ्ना रचना वाचन गरेका थिए । पहिलो चरणमा  प्रत्युसा तिवारी र रिया भण्डारीले र  दोस्रो चरणमा विवेक कँडेल र सज्ञान ओझाले कार्यक्रम  सञ्चालन गर्नु भएको थियो।

कविता रचना तथा वाचन प्रतियोगितामा सहभागी कवि  तथा कवयित्रीहरुले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यका विभिन्न छन्दोवद्ध कविता र उनले  नेपाली  भाषाको उत्थानका लागि पुर्‍याउनु भएको योगदानका बारेमा कविता रचना गरी  लयवद्ध रुपले वाचन गरेका थिए।उक्त प्रतियोगितामा सहभागी मध्ये पहिलो चरण (कक्षा ४-६) मा  कक्षा ६ कि कवयित्री  प्रत्युशा तिवारी प्रथम , कक्षा ४ का कवि श्रीराज विक्रम पाण्डे द्वितीय र कक्षा ५ का कवि  अभिनभ लम्सालले तृतीय स्थान हात पार्न सफल भए। त्यसैगरी दोस्रो चरण (कक्षा ७-९) मा सहभागी  मध्ये कक्षा ९ कि  कवयित्री भावना भण्डारी प्रथम , कक्षा ९ कै कवयित्री सुनिता खनाल द्वितीय  र कक्षा ७ कि कवयित्री आरोग्या अर्याल तृतीय स्थानमा आउन सफल भए। प्रतियोगितामा सहभागी सम्पूर्ण कवि तथा कवयित्रीहरुलाई धन्यवाद दिदै तपाईंहरुको नेपाली  साहित्यप्रतिको रुचि र सिर्जनशीलताले पक्कै पनि नेपाली साहित्यको उत्थान र विकासमा टेवा पुग्ने छ भनी हामी विश्वस्त छौं र तपाईंहरुको साहित्यिक यात्रा निरन्तर रुपमा अगाडि बढिरहोस् भनी कामना गर्दछौं ।

 – दिलबहादुर बिष्ट

   नेपाली विभाग प्रमुख 

Comments are closed.