वादविवाद प्रतियोगिताका तितामिठा अनुभव
हाम्रो विद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलापहरु हुने गर्दछन् । यहीँ मङ्सिरको १२ गते आइतबारका दिन हाम्रो विद्यालयलमा कक्षा ६ देखि कक्षा ९ सम्माका विद्यार्थीहरुका लागि वादविवाद प्रतियोगिता सञ्चालन गरिएको थियो । उक्त प्रतियोगितामा तहगत अनुसार वादविवादका शीर्षक छुट्याइएको थियो । मेरो शीर्षक “छोराछोरीलाई सम्पत्तिभन्दा असल शिक्षा दिनु बेस ” भन्ने थियो।
हामीलाई प्रतियोगिता सञ्चालन हुनुभन्दा एक हप्ता पहिले नै नेपाली विषय पढाउनु हुने गुरुबाले शीर्षक तथा प्रतियोगिताको बारेमा जानकारी दिनुभएको थियो। उहाँले हामी सबैलाई एक-एकवटा चिट्ठा निकाल्न लगाउनु भयो । त्यस चिट्ठामा पक्ष विपक्ष भनेर लेखिएको थियो । मैले पनि चिट्ठा निकाले र म पक्षमा परेँ अर्थात मैले “छोराछोरीलाई सम्पत्तिभन्दा असल शिक्षा दिनु बेस हो” भन्ने विषयको पक्षमा आफ्नो तर्कहरु व्यक्त गर्नु पर्ने भयो । मैले शीर्षकको बारेमा साथीहरू र गुरुहरुसित छलफल गरेँ र घर आएर आमाबुवालाई पनि सोधपुछ गरेँ ।
प्रतियोगिता हुने दिन पनि आयो र हामीले बिहानदेखि नै अभ्यास पनि गर्न सुरु गरिसकेका थियौं । कक्षा ७, ८ र ९ का विद्यार्थीहरु एउटै ठाउँमा भेला भयौं । आदरणीय दिल सर र मदन सर निर्णायकको भूमिका निर्वाह गर्न तयार हुनुहुन्थ्यो। त्यसैगरी उद्घोषणका लागि कक्षा ६ का बहिनीहरु तम्तयार अवस्थामा थिए । बोलाउने क्रममा मेरो नाम सबैभन्दा पहिले आयो। मेरो मनमा अलि डर र संकोच लागेर आए पनि हिम्मत जुटाएर अगाडि गएँ र सबै उपस्थित गुरुवर्ग र साथीहरूलाई सम्बोधन गरी आफ्नो विषयका तर्कहरु प्रस्तुत गर्दै विपक्षका तर्कहरुलाई खण्डन गरेँ। वक्ताले बोल्नको लागि पाँच मिनेटको समय दिइएको थियो त्यसैक्रममा चार मिनेटमा जनाउ घण्टी बज्यो र मैले आफ्ना भनाइहरु निष्कर्ष सहित विसर्जन गरेँ । आफ्नो पालो सकिएपछि मलाई हलुका महशुस भयो र अरुहरुका तर्कलाई ध्यान दिएर सुन्न थालेँ । सुन्दासुन्दै सबै सहभागी वक्ताहरुको बोल्ने क्रम सकिएको जानकारी उद्घोषकले दिएपछि सभापतिले छोटो मन्तव्यसहित कार्यक्रम समापन गर्नुभयो ।
यसरी वादविवाद प्रतियोगितामा भाग लिएर आफ्ना विचार प्रस्तुत गर्न पाएकोमा म धेरै खुसी भएँ र आफूभित्र रहेको क्षमतालाई निर्धक्कसाथ अभिव्यक्त गर्ने आत्मविश्वास बढेको अनुभव गरेँ ।
अनुश्रीया तुलाधर
कक्षा ८